ग्राहककहाँ नगएको भन्दै नेपाली युवतीमाथि निर्घात कुटपिट, भारतीय यौन गिरोहको पर्दाफाश

सुनौली सीमा नाका पारी भारतको महाराजगंज जिल्लाको कोल्हुइ गाउँमा यौन व्यवसायका लागि ग्राहककहाँ नगएको भन्दै एक नेपाली युवतीमाथि निर्घात कुटपिट गरिएको छ । ती नेपाली युवतीलाई बन्धक बनाएर कुटपिट गरिएको भारतीइ अखबार दैनिक जागरणले जनाएको छ । युवतीले विरोध गरेपछि यौन गिरोहको पर्दाफाश भएको छ ।

घटनाको सूचना पाएपछि पुगेको पुलिसले युवतीलाई मुक्त गराएको छ । अहिले ती युवतीको भिडियो भाइरल भइरहेको बताइएको छ । उनका अनुसार उनीसमेत नेपालबाट ४ युवतीहरु गएका थिए । त्यहाँ आर्केस्ट्रामा काम गर्ने मुस्कान नामकी भारतीय महिलाले चारै जनालाई कोल्हुइमा राखेकी थिइन् । उनलाई छोडेर उनीसँग गएका अन्य युवतीहरु नेपाल फर्किएका थिए । मंगलबार राती मुस्कानले ती युवतीलाई कुनै होटलमा पठाएकी थिइन् ।

नेपाली युवतीले जान अस्वीकार गरेपछि रिसाएकी मुस्कानले उनलाई निर्घात कुटपिट गरेकी थिइन् । उनले फलामको रडले नेपाली युवतीमाथि आक्रमण गरेकी थिइन् । मुस्कानले उनलाई कोठामा बन्दी बनाएर राखेको आरोप छ । पीडित युवतीले कुनै किसिमले पुलिसलाई सूचना दिएपछि पुलिसले उनको उद्धार गरेको थियो । आर्केस्ट्रा संचालक भने फरार भएकी छिन् ।

पुलिसलाई सोधपुछका क्रममा नेपाली युवतीले त्यहाँ यौनधन्दा चलाउने गिरोह नै चलिरहेको बताएकी छिन् । उनलाई पनि अनैतिक कार्यको लागि दबाब दिइएको उनले बताएकी छिन् । यौनधन्दामा संलग्न अस्वीकार गर्दा आफूमाथि कुटपिट गरिएको उनले बताइन् । पुलिस थाना प्रमुख रामसराय चौहानले युवतीलाई मुक्त गरेर घर पठाइएको र घटनामा संलग्नको खोजी भइरहेको बताएका छन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: