वीरगञ्जमा अस्पताल चाहार्दा चाहार्दै मृगौला रोगी किशोरीको मृत्यु

वीरगञ्ज । वीरगञ्जमात्रै नभएर बारा, रौतहट, सर्लाही सहित सम्पूर्ण प्रदेश नम्बर २ कै आशाको केन्द्र हो नारायणी अस्पताल । जहाँ टाढाटाढा बाट पनि बाँच्छु भन्ने आश बोकेर आउँछन् । त्यस्तै आश बोकेर आफ्नी छोरीको सुन्दर भविष्य देखेर आएकी थिईन्, रौतहटको गुजरा नगरपालिका वडा नम्बर ४ कनकपुर निवासी कुमारी वि.क. ।

विगत लामो समयदेखि मृगौला सम्बन्धित रोगबाट ग्रसित भएपनि सामान्य खेलकुद गर्ने हाँस्ने खेल्ने कुमारीकी १७ वर्षीय छोरी समिना वि.क ले वीरगञ्जका अस्पतालले भर्ना गर्न नमान्दा कलिलो उमेरमै ज्यान गुमाउनु परेको छ । रौतहटभन्दा अँझै बढी सेवा सुविधायुक्त तथा गुणस्तरीय र विश्वसनीय उपचार पाउने आश बोककी कुमारीले सोचेकी पनि थिइनन् की आफ्नी १७ वर्षीय छोरी गुमाउनुपर्छ भनेर ।

रौतहटबाटै वीरगञ्ज हेल्थ केयरसँग कुराकानी गरेर ल्याउनु हामी भर्ना गर्छाै भनिसकेपछि गुजरा नगरपालिकाको एम्बुलेन्समार्फत छोरी समिनाको उपचारका लागि वीरगञ्ज आइन् । वीरगञ्ज हेल्थ केयरमा कुरा भएपनि त्याँहा एम्बुलेन्सबाट झार्नै नदिएर उल्टै आधा घण्टासम्म रोकेर राखेको एम्बुलेन्स चालक रमेश कुमार बताउँछन् । आधा घण्टासम्म रोकेर राखेपनि भर्ना नलिएपछि एम्बुलेन्स चालके वीरगञ्जको लिंकरोडस्थित भवानी हस्पिटलमा लिएर गए ।

भवानी हस्पिटलले भर्ना गर्छाै भनेपछि समिनाकी आमाको मुहारमा आशाको दियो बलेको थियो । तर इमरजेन्सीमा लिएर फेरी भर्ना गर्न नमानेपछि निराश बनेकी कुमारीले सरकारी अस्पताल नारायणी अस्पतालमा जानुको विकल्प देखिनन् । सम्पूर्ण जनताको भरोसाको केन्द्र सरकारी अस्पतालले भर्ना गर्ने र छोरी ठीक हुने उनीमा विश्वास थियो । तर उनको विश्वास विश्वासमै सिमित रह्यो ।

नारायणी अस्पतालमा पनि ठाउँ छैन भन्दै भर्ना गर्न अस्विकार गरेपछि कुमारीले हरेस खाइन् । सरकारी अस्पतालले नै अस्विकार गरेपछि अरु निजी अस्पतालको के आश गर्नु ? एम्बुलेन्स चालकले अन्तिममा वीरगञ्जको नेशनल मेडिकल कलेजमा लिएर गए । बेलुकी साढे ६ बजे वीरगञ्ज पुगेकी कुमारी ४ वटा अस्पताल चाहार्दा चाहार्दै नेशनल मेडिकल कलेज पुग्दासम्म रातीको ९ बजीसकेको थियो ।

मेडिकल कलेजमा पनि १५ मिनेट गेटमै रोकेर राखेको एम्बुलेन्स चालक रमेश बताउँछन् । त्यो बेलासम्म अवस्था अत्यन्तै चिन्ताजनक भएपछि भर्ना लिने भनेर एम्बुलेन्सबाट निकाल्दा निकाल्दै समिनाले संसार छोडिसकेको कोभिड एक्सन टिम (क्याट) का सदस्य एवम नेपाल पत्रकार महासंघ पर्सा शाखा सदस्य अमित अग्रवालले बताए । तर औपचारिकताका लागि मेडिकल कलेजले इमरजेन्सीमा भर्ना गरेर मृत घोषणा गरेको थियो ।

मृतक किशोरी समिनाका बुबा चित्र बहादुर विश्वकर्माले हाँस्दै, खेल्दै गरेकी छोरीको अन्तिमपटक मुख समेत देख्न नपाएको यात्राडेलीसँगको संवादमा (रुँदै) भने । वीरगञ्जका ठूलो अस्पतालमा उपचारपछि ठीक भएर फर्किने आश बोकेर बसेको बेला छोरीको लाश आउँदाको पीडा उनले शब्दमा बताउन सकेनन् ।

उनीमाथी परेको बज्रपात उनको आवाजमा स्पष्ट थियो । उनि भन्छन्, ‘हामीजस्ता गरिब तथा विपन्न परिवार त बिरामी भएपछि मर्नुको बिकल्प छैन । यो संसार ठूला बडा र पहुँच हुनेहरुका लागि मात्रै रहेछ ।’ ‘यही हातले छोरीको अन्तिम संस्कार गरे सर । मेरो जस्तै पिडा अरुले भोग्नु नपरोस् । अस्पतालले भर्ना नगरेकै कारण कसैले पनि आफ्ना सन्तान गुमाउन नपरोस्,’ उनले भने ।

यता नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. उदयनारायण सिँहले नर्मल आईसियु खाली नहुँदा भर्ना नगरेको बताए । यस्तै वीरगञ्ज हेल्थ केयरका सञ्चालक डा. अबुलहैस अन्सारीले भने आफ्नो हस्पिटलमा आउँदै नआएको दावी गरे । उनले भने, ‘हामीसँग त सबै खाली छ । हामी आफै बिरामी खोजीरहेका छौँ । तर यहाँ आएकै छैन ।’

यस्तै भवानी हस्पिटलका सञ्चालक रामराज श्रेष्ठले हामीसँग डायलासिस मेशिन नभएकाले वीरगञ्ज हेल्थ केयर र नेशनल मेडिकल कलेजमा लिएर जान सुझाव दिएको बताए ।

नेशनल मेडिकल कलेजका निर्देशक प्राध्यापक डा. प्रमोद सर्राफले पनि डायलासिसका लागि खाली नभएको बताए । अहिले पनि ४० जना बिरामी डायलासिस गराउनेको लाइनमा रहेको सर्राफको भनाई छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: