बिरगंज । यतिबेला विश्व कोरोना भाइरस संक्रमणका कारण आक्रान्त छ। भाइरसको संक्रमणबाट कुनै पनि मुलुक अछुतो छैन। महामारी आफैंमा अनिश्चित र एक्कासि आउने भए पनि यसको नियन्त्रण तथा रोकथामका लागि सरकारी व्यवस्था र नेतृत्वको विशेष भूमिका हुन्छ।

महामारी तथा कुनै पनि प्रकोप नियन्त्रण तथा रोकथाममा सरकारको प्रमुख जिम्मेवारी र उत्तरदायित्व हुनैपर्छ। तीमध्ये कतिपय नेताले महामारी नियन्त्रणमा चासो नै देखाएनन् भने केहीले योजनाबद्ध रुपमा कामै गर्न सकेनन्।विश्वका केही नेता तथा सरकार प्रमुखले महामारी नियन्त्रणलाई गम्भीर रूपमा नलिँदा ठूलो मानवीय र आर्थिक क्षति व्यहोर्नुपरेको छ।

उनीहरु त विज्ञानले प्रमाणित गरेका तथ्यलाई तोडमोड गर्न व्यस्त रहे। भ्रम फैलाइरहे र सामाजिक दुरी कायम गराउन असफल भए। सरकारले महामारी नियन्त्रणमा काम गर्न नसक्दा ती देशका नागरिकको जनजीवन र जनस्वास्थ्य नराम्ररी प्रभावित बन्न पुगेको छ।

यी हुन् महामारी नियन्त्रणमा चुकेका पाँच सरकार प्रमुख

नरेन्द्र मोदी, प्रधानमन्त्री (भारत)

भारत यति बेला कोरोना भाइरसको नयाँ केन्द्रविन्दु बनेको छ। यहाँ दैनिक चार लाखसम्मलाई कोरोना संक्रमण भइरहेको छ। महामारीले दिनप्रतिदिन भयावह रुप लिँदै गए पनि मोदी सरकारले नियन्त्रण तथा रोकथाम गर्न सकिरहेको छैन। भारतको कोभिड–१९ को तथ्यांक डरलाग्दो छ। यसले विश्वकै ध्यान खिचेको छ यति बेला।

मोदी सरकार महामारी नियन्त्रण गर्न पूर्ण असफल भएको छ। बेड तथा अक्सिजन अभावले संक्रमितहरुको ज्यान गइरहेको छ। कतिपय संक्रमित बेड र अक्सिजनको पखाईमा छट्पटाइरहेका छन्। औषधि अभाव छ। स्वास्थ्य प्रणाली ध्वस्तजस्तै छ। मोदी सरकार महामारी नियन्त्रणमा चुकेको भन्दै उनको विश्वभर आलोचना भइरहेको छ। भारतका स्वास्थ्यविद् तथा विज्ञहरुले पनि मोदीको रणनीति असफल भएको बताइसकेका छन्। भारत अहिले त्रासदीपूर्ण अवस्थामा पुग्नुमा मोदी सरकार नै जिम्मेवार रहेको उनीहरुको ठम्याइ छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

सन् २०२१ जनवरीमा मोदीले छाती फुलाउँदै भारत महामारी नियन्त्रण गर्न सफल भएको दाबी गरेका थिए। मार्चमा मोदीका स्वास्थ्यमन्त्रीले महामारी अन्तिम अवस्थामा पुगेको बिगुल फुके। केही महिनापछि महामारीको दोस्रो लहर फैलिएपछि पुष्टि भयो, उनीहरुले महामारी नियन्त्रणका लागि स्वास्थ्य प्रणालीमा सुधार गर्नुको साटो गफ मात्र दिएका रहेछन्। सार्वजनिक स्वास्थ्यको बेवास्ता गरेका रहेछन् र महामारी नियन्त्रणमा वैज्ञानिक तथ्यलाई आत्मसात् गरी रणनीति बनाउन चुकेका रहेछन्।

भारतमा महामारी चलिरहेकै बेला कुम्भमेला आयोजना भयो। सरकारले आमनिर्वाचन गरायो। ठूला सभासम्मेलन तथा कार्यक्रम भए, जहाँ न सामाजिक दुरी थियो न त मास्कको प्रयोग।

मोदीले भारतमा महामारी आउने आंकलन नै गर्न सकेनन्। उनले महामारीलाई कमजोर ठान्दै गए। परिणामस्वरुप भारत महामारीको केन्द्र बन्न पुगेको हो। भारतमा महामारी चलिरहेकै बेला कुम्भमेला आयोजना भयो। सरकारले आमनिर्वाचन गरायो। ठूला सभासम्मेलन तथा कार्यक्रम भए, जहाँ न सामाजिक दुरी थियो न त मास्कको प्रयोग। मोदी सरकारको ठूलो गल्ती भनेकै निर्बाध रूपमा धार्मिक यात्रा सञ्चालन गर्न दिनु र चुनाव गराउनु रह्यो।

अर्को कुरा, गत वर्ष आफूहरू महामारी नियन्त्रण गर्न सफल भएको भन्दै भारतले छिमेकी देशलाई १० लाख डोज खोप सहयोग गर्‍यो। तर भातको १ अर्ब ३० करोड जनसंख्यामध्ये मे सम्म १.९ प्रतिशतले मात्रै कोेरोनाविरुद्धको खोप लगाएका छन।
भारतमा भाइरस संक्रमणका कारण तीन लाख ३७ हजार बढीको ज्यान गएको छ भने २ करोड ६७ लाख ५२ हजार चार सय बढी संक्रमित छन्।

जैर बोल्सनारो, राष्ट्रपति (ब्राजिल)

ब्राजिलका राष्टपति जैर बोल्सनारोले महामारीको मजाक उडाए। कोरोना भाइरस सानो फ्लु भएको जिकिर गरे। यस्तो लापरबाहीका कारण भाइरसको पहिलोे लहरमा ब्राजिल नराम्ररी प्रभावित भयो। राष्ट्रपति बोल्सेनारोले बन्दाबन्दीको खुलेरै विरोध गरेका थिए। उनले मास्कसमेत आवश्यक नरहेको बताए। विश्व बजार लकडाउन भएका बेला ब्राजिल खुल्लमखुल्ला थियो, जसको परिणाम ब्राजिलले अहिले भोग्नुपरिरहेको छ।

राष्ट्रपति बोल्सेनारो सामाजिक दुरी र विज्ञानले पुष्टि गरेका तथ्यलाई वास्तै गरेनन्। भाइरसको हल्ला फैलाएको भन्दै विश्व स्वास्थ्य संगठन र भाइरसको उत्पत्ति केन्द्र चीनको कडा आलोचना गरिरहे।

ब्राजिलका राष्टपति जैर बोल्सनारो

संक्रमितलाई सुरुसुरुमा खोप लगाउनसमेत नदिएका उनले जेजस्तो पनि असर गर्न सक्ने भन्दै सर्वसाधारणलाई खोप नलगाउन उक्साएका थिए। उनले भनेका थिए, ‘कसैले पनि खोप लगाउनु पर्दैन। खोपका कारण तपाईंहरु गोहीमा परिणत हुनुभयो भने आफैं जिम्मेवार हुनुहोला।’

जब ब्राजिलमा कोरोना महामारीबाट लाखौं सर्वसाधारण संक्रमित भए, संक्रमितले अस्पताल भरिए, हजारौंले अनाहकमा ज्यान गुमाए तब राष्ट्रपतिको होस खुल्यो। अनि उनले महामारीलाई गम्भीरताका साथ लिन थाले। सभासमारोहमा जादा मास्क लगाउन थाले र सर्वसाधारणलाई सामाजिक दुरी कायम गर्न आग्रह गरे। ब्राजिलमा भाइरसका कारण ४ लाख ४९ हजारको ज्यान गएको छ भने १ करोड ६० लाख ८३ हजारमा संक्रमण रहेको पुष्टि भएको छ।

अलेक्जेन्डर लुकासेन्को, राष्ट्रपति (बेलारुस)

विश्वका कतिपय देश महामारी नियन्त्रणमा नराम्ररी पछारिएका छन। जसको प्रमुख कारण हो सरकारको नीति र रणनीति। महामारी नियन्त्रण गर्ने व्यवस्थापनको कमीका कारण बेलारुस कोरोनाको चपेटामा परेको छ।

गत नोभेम्बरमा कोभिड–१९ संक्रमितलाई भेट्न मिन्स्कको एक अस्पतालमा मास्क लगाई पुगेका बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्को। तस्बिर : गेट्टी इमेजेज

लामो समयदेखि बेलारुसमा शासन गरिरहेका अलेक्जेन्डरले महामारीको खतरालाई कहिल्यै स्वीकार गरेनन्। उनले भाइरसलाई मजाकका रूपमा लिए। महामारीले उग्र रुप लिइरहँदा पनि उनले मदिरा पिउँदा र खेतमा काम गर्दा भाइरस नष्ट हुने दाबी गरिरहे।
विश्वबजार बन्दाबन्दीमा थियो। तर उनी निर्बाध रुपमा बजार खोलेर रमिते बने। कैयन् पटक बिना मास्क अस्पताल–अस्पताल चहारेका थिए उनले।

डोनाल्ड ट्रम्प पूर्व राष्ट्रपति अमेरिका

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमणलाई कहिल्यै गम्भीरतका साथ लिएनन्। उनले भारइसको मजाक उडाउँदै चीन र विश्व स्वास्थ्य संगठनको कडा आलोचना गरिरहे।

विश्व स्वास्थ्य संगठनले महामारी नियन्त्रणका लागि लकडाउन गर्नुपर्ने, मास्क लगाउनुपर्ने र सामाजिक दुरी कायम गर्नुपर्ने सुझाव दिए पनि उनले त्यसलाई कहिल्यै सुनेनन्। उल्टै अमेरिका विश्व स्वास्थ्य संगठनबाट बाहिरिने चेतावनी दिए। ट्रम्पको अज्ञानता, बेतुकको तर्क र महामारीलाई मजाक ठानेका कारण अमेरिका भाइरसबाट आक्रान्त बन्यो। उनले मास्क न आफूले लगाए न सर्वसाधारणलाई लगाउन आग्रह गरे।

अमेरिकी तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्प गत अक्टोबरमा मिचिगनमा आयोजित चुनावी अभियानमा। तस्बिर : गेट्टी इमेजेज

महामारीका बेला विना सामाजिक दुरी र बिना मास्क ठूलाठूला सभासम्मेलन गरिरहे। महामारी समुदाय स्तरमा फैलिँदै गएपछि र मृत्युदर बढ्दै गएपछि बल्ल उनी मास्क लगाउन थालेका थिए। ट्रम्पले विज्ञको कुरा नसुन्दा र भाइरसलाई मजाक ठान्दा अमेरिकाले ठूलो मानवीय क्षति व्यहोर्नुपरेको छ। अमेरिकामा भाइरसका कारण ६ लाख बढीको ज्यान गएको छ भने ३ करोड ३८ लाख ९६ हजार बढीमा संक्रमण देखिएको छ। ट्रम्पले कोरोना भाइरसलाई कहिले चाइनिज भाइरस त कहिले कुङ फ्लु भनेर खिल्ली उडाइरहेका थिए।

एन्ड्रेस मन्युएल लोपेज ओब्राडर, राष्ट्रपति (मेक्सिको)

अमेरिका र भारतपछि सबैभन्दा बढी मृत्युदर मेक्सिकोमा रहेको छ। मेक्सिकोमा पनि महामारी फैलिनुको प्रमुख कारण त्यहाँको नेतृत्व नै हो। मेक्सिकोका राष्ट्रपति पनि डोनाल्ड ट्रम्पका अनुयायी थिए। उनले लकडाउन, सामाजिक दुरी र मास्कको प्रयोग अर्थहीन भएको दाबी गरेका थिए।

मेक्सिकोका राष्ट्रपति एन्ड्रेस मन्युएल लोपेज ओब्राडर गत वर्ष मार्चमा देशव्यापी लकडाउन घोषणा गर्दै। तस्बिर : गेट्टी इमेजेज

लकडाउनकोे निरन्तर विरोध गर्दै आएका उनले संक्रमित र मृत्युदर बढ्दै गएपछि दुई महिना लकडाउन गरेका थिए। सन् २०१८ मा राष्ट्रपतिमा चयन भएका लोपेजले स्वास्थ्य क्षेत्रमा केही बजेट बढाए पनि विज्ञहरुले प्रकोप तथा महामारी नियन्त्रणका लागि पर्याप्त नभएको बताउँदै आएका थिए।

कोरोनाले देश आक्रान्त भएपछि अहिले मास्क लागउन अनिवार्य गरिएको छ भने सामाजिक दुरीमा ध्यान दिन थालिएको छ। मेक्सिकोमा कुल जनसंख्यामध्ये १० प्रतिशतले कोरोना खोप लगाएका छन्।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: